११७ वर्षे सिंहदरबार : वैभव खोसिएको, खण्डहर बनेको इतिहास

Image

नेपालको शक्ति–केन्द्र मानिने सिंहदरबार फेरि एकपटक आगो र आक्रोशको चपेटामा परेको छ। सोमबार भएको युवा आन्दोलनमाथिको दमनमा १९ जनाको मृत्यु भएपछि मंगलबार आक्रोशित समूहले सिंहदरबारमै आगो लगाइदिँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र मात्र होइन, सम्पूर्ण राष्ट्रको ऐतिहासिक स्मृतिमा गहिरो घाउ परेको छ। ११७ वर्षे इतिहास बोकेको सिंहदरबार अहिले धुवाँ, खरानी र अवशेषबीच खण्डहरझैँ देखिन्छ।

इतिहास

वि.सं. १९६५ (सन् १९०८) मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका लागि सिंहदरबार निर्माणको आदेश दिएका थिए। केबल एक वर्षमै तयार भएको यो दरबारमा एक हजारभन्दा बढी कोठा थिए, जसले त्यस समय एशियाकै ठूलो दरबारको रूपमा यसको परिचय बनायो।

दरबारको निर्माणमा करिब रु २५ लाख खर्च भएको बताइन्छ। बत्ती, झ्याल–ढोका, फर्निचर, चित्रकला र अन्य सजावटी सामग्री युरोपबाट आयात गरिएका थिए। चन्द्र शमशेर शिकार र कलाका सौखिन भएकाले सिंहदरबारका भित्ताहरूमा शिकार गरिएका जनावरका टाउकाहरू टाँसिएका थिए, भित्ताभरि युरोपेली चित्रकला सजिएका थिए। यसले सिंहदरबारलाई ‘सत्ता र सौन्दर्यको संयोग’को रूपमा चिनाएको थियो। सिंहदरबार युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन् ।

सत्ता–केन्द्रको रूपमा रूपान्तरण

वि.सं २००७ सालमा राणा शासनको अन्त्यसँगै सिंहदरबारले आफ्नो स्वरूप बदल्यो। चन्द्र शमशेरको निजी निवासबाट यो दरबार नेपाल सरकारको प्रशासनिक केन्द्रमा परिणत भयो। प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सबै मन्त्रालय यही दरबारभित्र राखिए। सिंहदरबार शक्तिको केन्द्र मात्र नभई, शासन–प्रशासनको मेरुदण्ड बन्न पुग्यो।

यसपछि सिंहदरबारलाई ‘नेपालको प्रशासनिक मुटु’ भनिन थालियो। देशको हरेक ठूला निर्णय, कानुन निर्माणदेखि बजेट प्रस्तुतिसम्म यही दरबारभित्र हुन्थे।

आगलागी , क्षतविक्षत स्वरूप र इतिहासकै साक्षी

विसं २०३० मा सिंहदरबारमा भीषण आगलागी भयो। यसले दरबारको पछाडिको ठूलो भाग नष्ट गर्‍यो। एक हजारभन्दा बढी कोठा भएको यो विशाल संरचनाले आफ्नो पुरानो भव्यता गुमायो। धेरैजसो सरकारी कार्यालयहरू अन्यत्र सार्नुपर्‍यो।

तर सिंहदरबारको नाम, यसको राजनीतिक–प्रशासनिक महत्व भने जोगिइरह्यो । आगलागीले यसलाई भौतिक रूपमा कमजोर बनायो भने
पछिल्ला पाँच दशकमा सिंहदरबारलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने प्रयास भइरह्यो । नयाँ भवनहरू बने, भूकम्पपछिको पुनर्निर्माणसमेत सम्पन्न भयो । फेरि प्रधानमन्त्रीको कार्यालयदेखि लिएर धेरै मन्त्रालयहरू यही परिसरमा सञ्चालन हुन थाले ।

पश्चिम गेट र भित्रको सुरक्षा व्यवस्थामा नेपाली सेना खटाइयो। सिंहदरबार केवल प्रशासनिक भवन मात्र रहेन मुलुकको राज्य–सत्ताको निरन्तरता, विगत र वर्तमानको संगम स्थल पनि बन्यो।

तर मंगलबारको घटनाले देखायो – नयाँ पुस्ता सिंहदरबारको ११७ वर्षे वैभव र ऐतिहासिक महत्वप्रति संवेदनशील छैन। सोमबारको दमनमा ज्यान गुमाएकाप्रति आक्रोशित समूह सिंहदरबार प्रवेश गर्दा उनीहरूका लागि यो केवल ‘नेता बस्ने ठाउँ’ थियो, राष्ट्रिय सम्पदा होइन।

पश्चिम गेटमा आगो लगाइएपछि अर्को समूह भित्र छिर्दै अघिल्लो भागमा तोडफोड र लुटपाट मचायो। आगो सल्काइयो। त्यस क्षण सिंहदरबार वि.सं. १९६५ (सन् १९०८) को वैभव नभई, २०२५ (२०८२) को अराजकता र आक्रोशको प्रतीक बन्यो।

आज सिंहदरबार फेरि खण्डहर बनेको छ। तर यसपटक यो केवल प्राकृतिक विपद्को परिणाम होइन, युवाको आक्रोश र नेतृत्वको असक्षमताको प्रतिफल हो।

सिंहदरबार अब इतिहासकै साक्षी बनेको छ तर गौरव र वैभवको होइन, खण्डहर र स्मृतिको प्रतिमूर्ति बनेर। यस घटनाबाट सिक्नुपर्ने गम्भीर पाठ के हो भने सम्पदा जोगाउनु भनेको केवल ढुंगा–माटो जोगाउनु होइन, हाम्रो सामूहिक चेतना, स्मृति र पहिचान जोगाउनु हो।