मोटरसाइकलको ठक्करबाट लडेकी २१ वर्षीया स्कुटर चालकलाई फोहोर बोक्ने गाडीले ठक्कर दिँदा मृत्यु

Image

तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार तुलसीपुर–११ कटाहाकी २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी केसीलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले दिउँसो करिब १:३० बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटना बिहीबार दिउँसो करिब १२:३० बजे राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ को गुम्ह्राचोक र मदन आश्रित चोक बीच भएको हो।

तुलसीपुर बजारबाट दक्षिणतर्फ गइरहेको उपमहानगरपालिकाको रा १ ग २२ नम्बरको फोहोर बोक्ने टिपरसँगै रा ४ प ७९४५ नम्बरको स्कुटर पनि सोही दिशामा गइरहेको थियो। त्यही क्रममा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करपछि स्कुटर चालक केसी सन्तुलन गुमाएर सडकमा लडेकी थिइन्। त्यसलगत्तै पछाडिबाट आइरहेको फोहोर बोक्ने टिपरले उनलाई किच्दा उनी गम्भीर घाइते भएकी थिइन्।

दुर्घटना भएको स्थानमा केही वर्षअघि सडक विस्तार गरिए पनि हालसम्म लेन छुट्याउने रोड मार्किङ नभएको स्थानीयले बताएका छन्। स्पष्ट लेन नहुँदा चालकहरूले जथाभावी ओभरटेक गर्ने प्रवृत्ति बढेको र यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ। सडक विभाग तथा सम्बन्धित निकायको बेवास्ताले सुरक्षा चुनौती थपिएको उनीहरूको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।