तारकेश्वर नगरपालिकाद्धारा अमेरिकी दूतावासमा भिसा सहजीकरणको पत्र लेखेको स्वीकार

Image

तारकेश्वर नगरपालिकाबाट अमेरिकी दूतावासमा पठाएको एउटा पत्र सार्वजनिक भएपछि तारकेश्वर नगरपालिकाले सुशील फुयाँललाई कर्मचारी बनाएर भिसा सहजीकरणको पत्र लेखेको स्वीकार गरेको छ । टिभी अन्नपूर्णले प्रकाशित गरेको खोज समाचारपछि तारकेश्वर नगरपालिकाले पहिलो पटक औपचारिक रूपमा अमेरिकी दूतावासलाई भिषा सहजीकरणको लागि नगरपालिकाबाट पत्राचार गरेको स्वीकार गरेको हो । 

नगरपालिकाले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने प्रतिनिधिमण्डलका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ता (भिषा अपोइन्टमेन्ट) सहजीकरणको लागि पत्राचार गरिएको उल्लेख गरेको छ।

विज्ञप्तिमा नगरपालिकाले प्रतिनिधिमण्डलमा मेयर कृष्णहरि महर्जन, वडा नं. ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा सदस्य किशोर भण्डारीसँगै सुशील फुयाँलको नाम पनि समावेश गरिएको स्वीकार गरेको छ।

यो स्वीकारोक्ति टिभी अन्नपूर्णले प्रकाशित गरेको समाचारको  मुख्य तथ्यसँग मेल खान्छ। टिभी अन्नपूर्णले सार्वजनिक गरेको कागजातमा पनि अमेरिकी दूतावासलाई पठाइएको पत्रमा यी चारै जनाको नाम उल्लेख गरिएको देखिएको थियो।

नगरपालिकाले भने विज्ञप्तिमार्फत समाचारमा कानुन व्यवसायीहरूले गरेको मानव तस्करीको उद्देश्य हुन सक्ने व्याख्यालाई भने अस्वीकार गरेको छ ।  विज्ञप्तिमा परराष्ट्र मन्त्रालयको कन्सर्नबिनै नगरपालिकाले कूटनीतिक नियोगमा गरेको पत्राचारलाई नियमित प्रशासनिक प्रक्रिया भएको दाबी गर्दै कुनै गैर कानुनी उद्देश्य नरहेको भनेको छ । 

विषयलाई ढाकछोप गर्ने आशयसहित नगरपालिकाले जारी गरेको विज्ञप्तिले अर्को महत्त्वपूर्ण प्रश्न भने अझै स्पष्ट पारेको छैन। टिभी अन्नपूर्णसँगको कुराकानीमा सुशील फुयाँलले आफू नगरपालिकाको कर्मचारी नभएको बताएका थिए। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले पनि फुयाँललाई नगरपालिकाको कर्मचारीका रूपमा आफूले नचिनेको बताएका थिए। हालका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले पनि फुयाँल नगरपालिकाको कर्मचारी नभएको जानकारी दिएका थिए।

यस्तो अवस्थामा नगरपालिकाले कुन आधारमा सुशील फुयाँललाई प्रतिनिधिमण्डलमा समावेश गर्‍यो, उनी कुन हैसियतमा अमेरिकी दूतावासमा पठाइएको पत्रमा उल्लेख भए, र उनीसँग सम्बन्धित कर्मचारी परिचयपत्र कसरी तयार भयो भन्ने विषयमा विज्ञप्तिमा उल्लेख छैन । 

टिभी अन्नपूर्णले यसअघि सार्वजनिक गरेको कागजातमा सुशील फुयाँललाई  सोसियल कन्सुलर उल्लेख गरिएको कर्मचारी परिचयपत्र पनि समावेश थियो। उक्त परिचयपत्रको आधिकारिकतामाथि समाचारले प्रश्न उठाएको थियो।

नगरपालिकाको पछिल्लो विज्ञप्तिले अमेरिकी दूतावासमा पत्राचार भएको तथ्यलाई भने औपचारिक रूपमा स्वीकार गरेको छ। अब उक्त पत्राचारको प्रक्रिया, त्यसमा समावेश व्यक्तिहरूको हैसियत तथा प्रस्तुत गरिएका कागजातहरूको वैधानिकताबारे उठेका प्रश्नको तथ्यगत टुङ्गो सम्बन्धित निकायको अनुसन्धानबाट मात्र लाग्नेछ।