काठमाडौंबाट छुटेलगत्तै फेरि पक्राउ परे अभिषेक गिरी

Image

काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामुक्त बनेका विराटनगरका अभिषेक गिरी फेरि पक्राउ परेका छन्। बिहीबार काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर आएका गिरीलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

साँझ ७ बजेर ५ मिनेटमा विमानबाट ओर्लिएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई पक्राउ गरेको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। प्रहरीका अनुसार गिरीमाथि आपराधिक लाभसँग सम्बन्धित कसुरमा अनुसन्धान भइरहेको छ।

यसै विषयमा थप अनुसन्धान गर्न अदालतबाट यसअघि नै पक्राउ अनुमति प्राप्त भएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यसअघि उनी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट साउन १५ मा पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश पाएका थिए।

अर्को मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेको थाहा पाएका र उजुरीकर्तासँग मिलापत्रको तयारी भइरहेकाले उनी डिल्लीबजार कारागार चलान भएका थिए। बिहीबार उजुरीकर्तासँग मिलापत्र भएपछि उनी थुनामुक्त भए। काठमाडौंबाट विराटनगर फर्कँदै गर्दा विमानस्थलबाटै पक्राउ परे।

विराटनगर–८ मधुमाराका ४८ वर्षीय गिरी आपरधिक गतिविधिका कारण चर्चामा रहिरहने पात्र थिए। उनी शरीर बन्धक तथा अपहरण मुद्दामा जेला साजय काटेर निस्केका हुन्।