नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा आठ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूले एनपीएलका खेलहरूमा अनलाइनमार्फत् हारजितको बाजी लगाएको खुलेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, शेख सोयब, नभिन मड्डेला, मोहम्मद रफी शेख, साईकुमार तम्मिसेट्टी र शेखचन्द बसल रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरेको छ । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सबैलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । यसअघि सट्टेवाजकै आरोपमा एक भारतीय नागरिक र एक नेपाली युवती पनि पक्राउ परेकी थिइन् ।














