नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ । त्यस्तै प्रदीप अधिकारीलाई भन् थप सजायका लागि माग गर्ने प्रवक्ता लामिछानेले बताएका छन् । प्रमुख पदमा रहि भष्ट्रचारमा संलग्नलाई थप ३ वर्षको जेल सजायका लागि माग गरिने प्रावधान रहेको उनले बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको विषयमा मुद्दा दायर भएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जनाएका छन् । उनले महानिर्देशक अधिकारीको विरुद्धमा सोही ऐनको दफा २४ अनुसार थप सजाय समेत माग भएको बताए । बुधबार समय अभावले थुनछेकको बहस शुक्रबार मात्रै हुने प्रवक्ता लामिछानेले बताए ।
भक्तपुरको नलिन्चोक हेलिपोर्ट प्रकरणको भ्रष्टाचार मुद्दा दायर भएको हो । भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार भएको थियो । नलिञ्चोक हेलिपोर्ट सञ्चालनमा आएको १० दिनमै ४७ पाइलटहरू हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले उडान नगर्ने बताएका थिए । उक्त हेलिपोर्टमा भएको अनियमितताबारे टिभी अन्नपूर्णमा समाचार प्रकाशित भएको थियो ।













