सेयर धितो राखेर ५० लाख रुपैयाँसम्म लिएको कर्जामा जोखिम भार १ सय प्रतिशत मात्रै कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यो व्यवस्था लागू गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए । राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको बताएका छन् । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए । अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।
अटोकर्जाको हकमा साना अटो व्यवसायलाई राहत दिने उल्लेख छ। गभर्नर अधिकारीले २५ लाखसम्मका अटोकर्जालाई सय प्रतिशत जोखिम भारको व्यवस्था गर्ने बताए । हायर पर्चेजमा ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।













