नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले घटेको छ। गत साता बिहीबार १७ अंकले घटेको नेप्से आइतबार थप १९.८५ अंकले घट्दै २६९४.२० बिन्दुमा झरेको हो।
कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से सूचक कारोबार बन्द हुँदासम्म निरन्तर घट्दो क्रममा देखिएको थियो। आइतबार कारोबार सुरु हुँदा नेप्से २७१४.०५ अंकमा रहेको थियो।
लगानीकर्ताका अनुसार सूचीकृत अधिकांश कम्पनीहरूले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेकाले अब प्रतिफलका लागि लामो समय पर्खनुपर्ने अवस्था बनेको छ। यसले बजारमा नकारात्मक प्रभाव पारेको उनीहरूको विश्लेषण छ। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खर्च व्यवस्थापन गर्न सेयर बिक्री बढ्दा बजारमा थप दबाब परेको बताइएको छ।
नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ।
आइतबार नेप्सेमा कारोबार भएका ३२९ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ। ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कम्पनीगत रूपमा मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १९ प्रतिशतले घटेको छ।
समूहगत परिसूचकतर्फ आइतबार व्यापार समूहबाहेक सबै समूह ओरालो लागेका छन्। बैंकिङ ५.८७, विकास बैंक ४३.५४, वित्त ११.३०, लगानी १.०२, जीवन बीमा ६८.३०, लघुवित्त २८.४०, निर्जीवन बीमा ७०.५२, अन्य २१.८९, होटल १३२.३०, जलविद्युत् ४९.१७, उत्पादनमूलक ७१.०५ र सामूहिक लगानी कोष ०.१० अंकले घटेका छन्। व्यापार समूह भने २०.९२ अंकले बढेको छ।
कारोबार रकम पनि घटेको छ। आइतबार नेप्सेमा १ लाख १० हजार ७ सय २९ कारोबारमार्फत २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।
यो कारोबार रकम गत साता बिहीबारको तुलनामा कम हो। बिहीबार नेप्सेमा १४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
लगानीकर्ताहरू आगामी राजनीतिक र आर्थिक घटनाक्रमको प्रभाव पर्खिरहेको अवस्थामा बजारमा अस्थिरता कायम रहेको देखिएको छ।
















