प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुनेगरी शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुने बैंकका कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । अनुभवी र कुशल बैंकरको पहिचान बनाएका शर्माले बैंकिङ क्षेत्रमा बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव सँगालेका छन् । यसअघि उनी माछापुच्छ्रे बैंकमा २१ महिना र त्यसपछि छोटो समयको लागि सनराइज बैंकको सीईओ बनेका थिए ।
शर्मासँग त्यसअघि ग्लोबल आईएमई बैंक, एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर गरेका छन् ।
उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । उनले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छ्रे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए ।















