नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकको सुधार आएको छ। साताको सुरुदेखि अस्थिर बनेको नेप्से सूचक बिहीबार २७.१९ अंकले बढ्दै २७०८.७० बिन्दुमा पुगेर बन्द भएको छ।
यसअघि बुधबारसम्म नेप्से सूचक करिब ३२ अंकले घटेको थियो। बिहीबार भने बजारमा सुधार देखिएको हो। कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक दिनभरि निरन्तर बढ्दै बन्दसम्म सकारात्मक रह्यो। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले उक्लिएको छ।
बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड, सुपर मादी हाइड्रोपावर र मोदी इनर्जी रहेका छन्।
यस दिन २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत सूचकतर्फ अधिकांश सूचकमा हरियाली देखिएको छ। बैंकिङ समूह ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल तथा पर्यटन १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादन तथा प्रशोधन ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंकले बढेका छन्। यद्यपि, व्यापार समूह भने १८.५१ अंकले घटेको छ।
कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार नेप्सेमा ३२६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ पटकको कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको छ।
यसअघि बुधबार ३२६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको थियो।
















