काठमाडौँ महानगरपालिका ले नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यले ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित विशेष कार्यक्रमबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम ले सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ को अवधारणालाई मूर्त रूप दिन र केन्द्रमा पाइने सुविधा स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यले जग्गासम्बन्धी अधिकार महानगरलाई हस्तान्तरण गरिएको मन्त्री इङ्नामले बताए। काठमाडौँ उपत्यकाका करिब ९५ प्रतिशत नागरिकको मुख्य सरोकार जग्गा–जमिनसँग जोडिएकाले अब मन्त्रालय वा विभाग धाउनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ।
राज्यले उद्योगधन्दामा पर्याप्त अवसर सिर्जना गर्न नसक्दा जग्गा नै मुख्य सम्पत्ति बन्न पुगेको उल्लेख गर्दै मन्त्री इङ्नामले प्रशासनिक झन्झट घटाउन प्रविधिको प्रयोग विस्तार गरिने जानकारी दिए।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले ४७औँ कार्यपालिका बैठकको निर्णयअनुसार हाललाई ‘पाइलट परियोजना’ का रूपमा १० वटा वडाबाट सेवा सुरु गरिएको बताइन्। पहिलो चरणमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सेवा सञ्चालनमा आएको छ। निकट भविष्यमै महानगरका सबै ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिइन्।
प्राविधिक तथा भौतिक तयारीका कारण एकैपटक सबै वडामा सेवा सुरु गर्न नसकिए पनि पहिलो चरणको अनुभवका आधारमा अन्य क्षेत्रमा विस्तार गरिने उनले स्पष्ट पारिन्।
प्रणाली लागू भएसँगै अब राजश्व संकलन, बायोमेट्रिक विवरण संकलन, जग्गा किनबेचका लागि तमसुक बनाउने, बैंक प्रयोजनका लागि जग्गा रोक्का तथा फुकुवा गर्ने र लालपुर्जा प्रिन्ट गर्ने जस्ता सेवा वडा कार्यालयबाटै उपलब्ध हुनेछन्।
महानगरका अनुसार यसबाट मालपोत कार्यालयमा हुने अनावश्यक भीडभाड कम हुने र नागरिकले झन्झटरहित तथा छरितो सेवा पाउने अपेक्षा गरिएको छ।















