संघीय संसद निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सफलता नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा देखिएको छ। यस अवसरमा पार्टीका अध्यक्ष, नेतृत्व तह, नवनिर्वाचित सांसदहरू, सम्पूर्ण कार्यकर्ताहरू, मतदाताहरू तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई। यस परिणामका लागि रुख, सूर्य, हलो, तारा लगायतका सबै राजनीतिक शक्तिहरूलाई पनि बधाई।
जेनेरेशन–जेड युवा आन्दोलन, लोकतान्त्रिक प्रतिस्पर्धा र जनमतको सम्मानले नै देशको भविष्य निर्धारण गर्दछ। चुनावी प्रक्रियामा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको छ, जसका कारण जनताको आवाज स्पष्ट रूपमा व्यक्त भएको छ। लोकतान्त्रिक आन्दोलन तथा विभिन्न शान्तिपूर्ण जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरू, सुरक्षाकर्मीहरू तथा सर्वसाधारण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका परिवारजनप्रति गहिरो सम्मान व्यक्त गर्दछु। लोकतन्त्रको संस्थागत विकासमा उहाँहरूको योगदान नेपालले सधैं उच्च सम्मानका साथ स्मरण गरिरहनेछ।
नेपाली जनताले दिएको यो जनादेश केवल राजनीतिक सफलता मात्र होइन देशमा स्थायित्व, सुशासन, आर्थिक समृद्धि तथा राष्ट्रिय एकताको नयाँ अध्याय सुरु गर्ने अवसर पनि हो। यस निर्वाचन परिणामका लागि रुख, सूर्य, हलो र तारा लगायत सबै राजनीतिक शक्तिहरू बधाईका पात्र हुनुहुन्छ। चुनावी प्रतिस्पर्धामा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। लामो समयको राजनीतिक अभियान, कठिन परिश्रम तथा निरन्तर प्रयासका कारण अहिले सबैलाई केही विश्राम गर्ने अवसर पनि प्राप्त भएको छ। घण्टीको आवाजले जनताको भावना, अपेक्षा तथा वास्तविक अवस्थालाई बुझ्ने अवसर प्रदान गरेको छ। यसबाट आगामी पाँच वर्षमा हालका कमजोरीहरूलाई सुधार गर्दै सबै राजनीतिक शक्तिहरू अझ सुदृढ हुने अपेक्षा गर्न सकिन्छ।
आजको कमजोर सिमलको रुख भविष्यमा सालको जस्तो बलियो र दिगो रुखमा रूपान्तरण होस्। कालो बादलले ढाकेको सूर्य उज्यालो र स्पष्ट सूर्यका रूपमा उदाओस्। कमजोर हलो बलियो र सक्षम हलोमा रूपान्तरण होस्। सधैं चञ्चल देखिने तारा स्थिर ताराका रूपमा स्थापित होस्। अबको समय भनेको रुख, सूर्य, हलो र तारा लगायत सबै राजनीतिक शक्तिहरूले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर हो।
अहिले नेपाल आर्थिक चुनौती, युवाको विदेश पलायन, कमजोर औद्योगिक विकास, सीमित रोजगारी अवसर तथा कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समस्याबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा नयाँ नेतृत्वले व्यवहारिक, यथार्थपरक तथा दूरदर्शी कार्यक्रमहरू लागू गर्नु अत्यन्त आवश्यक छ। देशको विकासका लागि सबैभन्दा पहिले राजनीतिक स्थिरता आवश्यक हुन्छ। स्थिर सरकार, स्पष्ट नीति तथा दीर्घकालीन योजना बिना आर्थिक विकास सम्भव हुँदैन। त्यसैले राष्ट्रिय सहमति, संवाद तथा सहकार्यको वातावरण निर्माण गर्दै स्थिर शासन प्रणाली स्थापना गर्नु आजको प्राथमिक आवश्यकता हो।
त्यस्तै सुशासन तथा भ्रष्टाचार नियन्त्रण देशको विकासको मूल आधार हो। पारदर्शी प्रशासन, डिजिटल शासन प्रणाली तथा सार्वजनिक उत्तरदायित्वलाई सुदृढ गर्दै राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु अत्यावश्यक छ। यदि राज्य प्रणाली पारदर्शी र उत्तरदायी बन्न सकेमा नागरिकको विश्वास स्वतः बढ्नेछ।
नेपालले आफ्नो प्राकृतिक स्रोत, भौगोलिक विशेषता, सांस्कृतिक सम्पदा तथा पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्दै देशभित्रै रोजगारी सिर्जना गर्न सक्छ। पर्यटन, कृषि, जलविद्युत, सूचना प्रविधि तथा साना–मध्यम उद्योगहरूको विकासमार्फत आर्थिक अवसरहरू विस्तार गर्न सकिन्छ।
आजको विश्व परिवेशमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग सहज, अर्थपूर्ण तथा व्यावहारिक रूपमा जोड्नु आवश्यक छ। यस सन्दर्भमा नेपाललाई “ज्येष्ठ नागरिक आवास तथा सेवा केन्द्रको अन्तर्राष्ट्रिय हब -ग्लोबल सिनियर सिटिजन केयर हब_” का रूपमा विकास गर्ने अवधारणा अत्यन्त महत्वपूर्ण देखिन्छ।
विश्वका धेरै विकसित देशहरूमा ज्येष्ठ नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ र उनीहरूलाई सुरक्षित, स्वास्थ्यकर तथा शान्त वातावरणमा जीवन बिताउने स्थानको आवश्यकता बढ्दै गएको छ। नेपालमा पनि ज्येष्ठ नागरिकहरूको संख्या बढ्दो क्रममा छ, तर आर्थिक तथा पूर्वाधारगत सीमितताका कारण पर्याप्त सेवा उपलब्ध गराउन चुनौती रहेको छ।
यदि नेपालले अन्तर्राष्ट्रिय स्तरको ज्येष्ठ नागरिक सेवा केन्द्रको अवधारणा विकास गर्न सकेमा विदेशी ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गरेर प्राप्त हुने आम्दानीबाट नेपालका आफ्नै ज्येष्ठ नागरिकहरूलाई समेत थप गुणस्तरीय सेवा उपलब्ध गराउन सकिनेछ।
नेपालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण, सांस्कृतिक समृद्धि तथा तुलनात्मक रूपमा कम जीवनयापन लागतका कारण नेपाल विश्वका ज्येष्ठ नागरिकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्छ। यदि उपयुक्त कानुन, नीति तथा पूर्वाधार विकास गर्न सकियो भने चीन, भारत, युरोप, अमेरिका, इजरायल, रुस लगायतका देशका सेवानिवृत्त नागरिकहरू नेपालमा दीर्घकालीन रूपमा बसोबास गर्न आउन सक्छन्।
यसबाट नेपालले प्रत्यक्ष रूपमा विदेशी मुद्रा आर्जन गर्न सक्नेछ। साथै विदेशमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्केर यस क्षेत्रमा काम गर्ने अवसर पनि प्राप्त हुनेछ। स्वास्थ्य सेवा, आतिथ्य सेवा, खाद्य आपूर्ति, कृषि उत्पादन, यातायात, होटल तथा अन्य सेवा क्षेत्रमा लाखौँको संख्यामा रोजगारी सिर्जना हुन सक्छ। यो कार्यक्रम सफल भएमा नेपाल अन्तर्राष्ट्रिय स्तरमा शान्त, सुरक्षित तथा मानवमैत्री राष्ट्रका रूपमा चिनिन सक्छ। विभिन्न देशका नागरिकहरू नेपालमा बसोबास गर्ने भएकाले नेपालसँग उनीहरूको पारिवारिक तथा आत्मीय सम्बन्ध विकास हुनेछ, जसले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउनेछ।
अन्ततः आजको आवश्यकता भनेको स्पष्ट तथा दीर्घकालीन राष्ट्रिय विकास दृष्टिकोण हो। यदि दूरदर्शी नीति, स्थिर शासन प्रणाली तथा पारदर्शी प्रशासन लागू गर्न सकियो भने नेपाललाई शान्त, समृद्ध तथा सम्मानित राष्ट्रका रूपमा स्थापित गर्न सकिन्छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टीको नयाँ नेतृत्वले यस अवसरलाई राष्ट्रको दीर्घकालीन रूपान्तरणमा उपयोग गर्दै सम्पूर्ण नेपाली जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
यसका लागि आवश्यकता परेमा सेरेब्रालिङ्क ग्लोबल नेपाल सरकारसँग सहकार्य गर्दै राष्ट्रिय विकासका कार्यक्रमहरूमा योगदान दिन सधैं तत्पर रहनेछ। अन्त्यमा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै राजनीतिक शक्तिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।















