साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ।
आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेर बन्द भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो।
परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ। आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी सालपा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र होटल फरेन्ट इनको मूल्य ९.९३ प्रतिशतले बढ्दै सकारात्मक सर्किट नजिक पुगेका छन्।
ग्रीनलाइफ हाइड्रोपावर र अभियान लघुवित्तको सेयर मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ। यता धर्मखोला हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।
समूहगत सूचकमध्ये ‘अन्य’ समूहमा २.८३ प्रतिशतको सुधार देखिए पनि अन्य अधिकांश समूहमा खासै उल्लेख्य उतारचढाव देखिएन। होटल, इन्भेष्टमेन्ट, जीवन बीमा र म्युचुअल फण्ड समूह भने आज घटेका छन्।
आज कुल १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कारोबार रकमका आधारमा ग्रीनलाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ८१ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख र हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
















