मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र वडा नम्बर–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेका छन्। अर्का एक मृतकको भने पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो।
उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














