धनुषा-१ : किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका यादव विजयी

Image

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गर्ने आदेश दिएको हो।

साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादव विजयी भएका छन्।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो।

उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको देखिएको थियो। किशोरीले यससँग सम्बन्धित दुई वटा रिट दायर गरेका थिए।

सुरूमा उनले निर्वाचन आयोगको निर्णयविरूद्ध फागुन १९ गते आफ्नो उम्मेदवारी कायम गर्न माग गरी सर्वोच्च पुगेका थिए।