नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। आइतबार एकैदिन सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन भने सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक साताको अवधिमा सुनको भाउ कुल २७ हजार ४ सय रुपैयाँले घटेको छ। गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य लगातार ओरालो लागेको हो।
यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको रेकर्ड कायम भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
एक साताको अवधिमा चाँदीको मूल्य ७३० रुपैयाँले घटेको छ। गत आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा रहेको चाँदीको भाउ निरन्तर घट्दो क्रममा छ। यसअघि माघ १५ गते चाँदीले हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ छोएको थियो।













