क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्कोस्थित बन्द नेपाली महावाणिज्यदूतावास पुनः सञ्चालन गर्न माग गर्दै बे एरियाका नेपाली समुदायले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाका उपाध्यक्ष तथा मुक्तिनाथ धाम क्यालिफोर्नियाका ट्रष्टी अध्यक्ष पशुपति कँडेलले मन्त्री खनाललाई ज्ञापनपत्र बुझाउँदै कम लागतमा कार्यालय पुनः सञ्चालन गर्न सकिने प्रस्तावसमेत प्रस्तुत गरेका हुन्।
सरकारले खर्च कटौती गर्ने उद्देश्यले सेप्टेम्बर १ देखि बन्द गरेको महावाणिज्यदूतावास पुनः सञ्चालन गर्दा लाग्ने खर्चमा नेपाली समुदायले समेत योगदान गर्ने प्रस्ताव ज्ञापनपत्रमा गरिएको छ। कार्यालयको मुख्य सञ्चालन खर्च राहदानी शुल्कबाट व्यवस्थापन गर्न सकिने र पर्यटन तथा सांस्कृतिक प्रवर्द्धनका कार्यक्रम नेपाल पर्यटन बोर्ड, स्थानीय व्यवसायी र प्रवासी नेपाली समुदायको सहकार्यमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।
ज्ञापनपत्रमा महावाणिज्यदूतावास बन्द भएपछि बे एरियामा रहेका नेपाली समुदायले कन्सुलर सेवा लिन कठिनाइ भोग्नुका साथै नेपालसँग सम्बन्धित पर्यटन तथा व्यावसायिक गतिविधिमा समेत असर परेको उल्लेख छ।
अमेरिका नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार रहेको र सन् २०२५ मा अमेरिकाबाट १ लाख १२ हजार ३९६ पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै पश्चिमी तटबाट आउने पर्यटकलाई लक्षित पर्यटन प्रवर्द्धन गर्न महावाणिज्यदूतावास उपयोगी हुने जनाइएको छ। ट्रेकिङ, योग, ध्यान तथा आरोग्य पर्यटन प्रवर्द्धनका साथै अमेरिकी विश्वविद्यालय र संग्रहालयसँग सांस्कृतिक सहकार्य गर्न सकिने प्रस्ताव पनि गरिएको छ।
त्यस्तै, अमेरिकी पर्यटकको अनलाइन भिसा आवेदन वा आगमन फारममा उनीहरू बसोबास गर्ने राज्यको विवरण समेट्ने व्यवस्था गर्न सुझाव दिइएको छ। यसबाट पश्चिमी तटबाट नेपाल जाने पर्यटकको वास्तविक संख्या पहिचान गर्न सहज हुने ज्ञापनपत्रमा उल्लेख छ।
प्रस्तावित कार्यक्रमलाई १२ महिनासम्म सञ्चालन गरी पर्यटक आगमन, व्यावसायिक साझेदारी र सांस्कृतिक कार्यक्रमका आधारमा उपलब्धि मूल्याङ्कन गर्न सकिने तथा अपेक्षित परिणाम नआए कार्यक्रम परिमार्जन गर्न सकिने विकल्पसमेत प्रस्तुत गरिएको छ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खनालले प्रस्तावलाई गम्भीरतापूर्वक लिएको र अध्ययन गरेर महावाणिज्यदूतावास पुनः सञ्चालनका लागि पहल गर्ने बताएका छन्।















