सडकमा बसेर आम जनताको सरकार चलाउँछौं : कुलमान घिसिङ

Image

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै आम जनताको सरकार चलाउने बताएका छन्।

बुधबार पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले उज्यालो नेपाललाई सडकमा बसेर जनताको सरकार चलाउने म्याण्डेट दिएको बताएका हुन्।

उनले अब सडकको सरकार उज्यालो नेपालको हुने दाबी गर्दै सडकबाटै देशलाई समृद्धितर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे।

घिसिङले नयाँ सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्दै अघि बढ्ने धारणा पनि राखे।

प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट उम्मेदवारी दिए पनि जित हासिल गर्न नसक्दा पनि आफूले हारेर पनि जितेको महसुस गरेको उनले बताए।

देशमा स्थायित्वका लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुईतिहाइ मत दिनु महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ।

उनले आगामी दिनमा गाउँ–टोलसम्म पार्टी संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने जानकारी पनि दिए।