नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा निर्वाचित आफ्ना २५ जना सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएका छन् ।
बुवा मोहनप्रसाद ओलीको काजकिरिया सकिएपछि ओली पहिलो पटक एमाले केन्द्रीय कार्यालय च्यासल पुग्न लागेका हुन्। सिंहदरबारमा शपथ ग्रहण गरिसकेपछि उनले बिहीबार दिउँसो ३ बजे सबै २५ सांसदलाई निर्देशन दिन च्यासल बोलाएको स्रोतले जनाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले लज्जास्पद नतिजा भोग्दै प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट मात्र जित्न सफल भएको थियो। चुनावी परिणामपछि अध्यक्ष ओलीसहित पार्टीका अधिकांश शीर्ष पदाधिकारीले हार बेहोर्नुपरेको छ।
यही परिस्थितिमा एमालेले अब संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्था आएको छ। संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सहित केही सांसदहरूको नाम चर्चामा रहेको छ। यता युवा एमाले कार्यकर्ताहरूले भने सुहाङ नेम्बाङलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज उठाइरहेका छन्।
यसैबीच, च्यासलमा हुने बैठकमा ओलीले प्रतिनिधिसभामा एमाले सांसदहरूले खेल्नुपर्ने भूमिका, पार्टीको आगामी रणनीति तथा संसदीय दलको नेतृत्व चयनलगायत विषयमा निर्देशन दिने बताइएको छ।
















