नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
को-को बने मन्त्री?
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राखेका छन्। मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तेस्रो वरीयताका सुधन गुरुङले शक्तिशाली गृह मन्त्रालयको कार्यभार सम्हालेका छन्।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन्। स्ट्रक्चरल इन्जिनियर तथा प्रधानमन्त्रीका पूर्वसल्लाहकार सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ। विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।
यस्तै, खड्कराज पौडेल (गनेश) लाई पर्यटन, सस्मित पोखरेललाई शिक्षा र खेलकुद, निशा मेहतालाई स्वास्थ्य र विक्रम तिमिल्सिनालाई सञ्चार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। सामान्य प्रशासनमा प्रतिभा रावल, श्रममा दीपक साह (महोत्तरी), कानुनमा सोबिता गौतम र महिला तथा बालबालिका मन्त्रालयमा सीता वादी नियुक्त भएका छन्।
१६५ सदस्यीय प्रत्यक्ष निर्वाचन प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटसहित ऐतिहासिक बहुमत प्राप्त गरेको छ। अन्य दलहरूमा कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३, राप्रपा १ र स्वतन्त्र १ सिटमा खुम्चिएका छन्। यही स्पष्ट बहुमतका आधारमा बालेन शाहले एकलौटी जस्तै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन्।
















