नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

Image

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन्।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको नेता युवराज दुलाले जानकारी दिए। बैठकमा उपस्थित सांसदहरूले प्रचण्डको नेतृत्वमा संसदीय गतिविधि सञ्चालन गर्ने निर्णय गरेका हुन्।

बैठकले संसदीय दलको उपनेता भने पछि चयन गर्ने सहमति गरेको पार्टीले जनाएको छ। उपनेता चयनबारे अर्को बैठकमा निर्णय गरिने बताइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट १७ जना सांसद निर्वाचित भएका छन्। ती सांसदहरू सम्मिलित बैठकले संसदीय दलको नेता चयन गरेको हो।

नवनिर्वाचित दलका नेता प्रचण्डले संसदमा पार्टीको भूमिका सशक्त बनाउने, सरकार र नीति–निर्माणका विषयमा प्रभावकारी रूपमा प्रस्तुत हुने तथा जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ।