राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदानका क्रममा कुनै पनि उम्मेदवारको नाम लेखिएको चिट बोकेर जान नपाइने व्यवस्था गरिएको छ।
महाधिवेशनको मतदान प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन अनुशासन समितिले यस्तो नियम लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार मतदानस्थलमा प्रवेश गर्दा कुनै पनि प्रतिनिधिले उम्मेदवारको नाम, सूची वा चिट बोकेर जान पाउने छैनन्।
अनुशासन आयोगका नेताहरूका अनुसार यदि कुनै व्यक्तिले उम्मेदवारको नाम भएको चिट बोकेर मतदान गर्न गएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज हुन सक्ने व्यवस्था गरिएको छ।
रास्वपाका नेता गणेश पराजुलीले अनुशासन समितिले मतदान प्रक्रियामा अनावश्यक प्रभाव रोक्न र स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्ने वातावरण सुनिश्चित गर्न उक्त व्यवस्था ल्याएको जानकारी दिए।
रास्वपाको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया सञ्चालन हुँदैछ। महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन विभिन्न आचारसंहिता तथा अनुशासनसम्बन्धी व्यवस्था लागू गरिएको पार्टीले जनाएको छ।















