जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबारदेखि उनको बयान प्रक्रिया सुरु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतका अनुसार मंगलबार दिउँसोदेखि लेखकसँग बयान लिने काम जारी छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले लेखकलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्रीका रूपमा उनले गरेको निर्णय र कार्यशैलीबारे प्रश्न उठेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो । सो घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो ।
उक्त आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा गत शनिबार बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई प्रहरीले पक्राउ गरेको थियो। ओली हाल स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।
















