नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
मंगलबार दुवै पक्षबाट छुट्टा–छुट्टै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै रिहा माग अस्वीकार गरेको हो।
खड्काको पक्षबाट पत्नी विनिता थापाले रिट दायर गरेकी थिइन् भने शर्माको पक्षबाट उनका श्रीमान् चिन्तामणि शर्माले रिट दायर गरेका थिए। उनीहरूले हिरासतमा राखिनु गैरकानुनी भएको उल्लेख गर्दै रिहा माग गरेका थिए।
तर, न्यायाधीश श्रीकान्त पौडेलको इजलासले दुवै रिट अस्वीकार गरेको छ।
खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरेको थियो। रेखा शर्मालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखिएको थियो।














