काठमाडौंबाट धनगढी भन्दा दिल्ली जान सस्तो 

Image

हवाई इन्धनको मूल्य वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले महँगिएको छ। नयाँ भाडादर अनुसार अब काठमाडौँबाट सुदूरपश्चिमको धनगढी जान लाग्ने खर्चभन्दा भारतको राजधानी नयाँ दिल्ली पुग्न कम सस्तो छ। आउने शनिबारका लागि काठमाडौँ-धनगढीको एकतर्फी भाडा अधिकतम २१ हजार ६०८ रुपैयाँ पुगेको छ। रोचक के छ भने, सोही दिन काठमाडौँबाट अन्तर्राष्ट्रिय उडानमार्फत नयाँ दिल्ली जान १७ हजार ९ सय ४९ रुपैयाँ मात्रै लाग्ने देखिन्छ ।

यो टिकट दर बुधबार दिउँसो समाचार लेख्दाको समयको हो। नेपाल वायुसेवा निगम, मेकमाईट्रिपमा नेपाली रूपैयाँ १८ हजार देखिएको नयाँ दिल्लीको भाडा इसेवामा १७ हजार छ।

वायुसेवा निगम र अन्य बुकिङ एजेन्सीहरूको रेटमा दिल्लीको भाडा केही तलमाथि भए पनि आन्तरिक उडानको लामो दूरी र अन्तर्राष्ट्रिय उडानको भाडादर झण्डै बराबरीको रेखामा आइपुगेको हो।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ९८ प्रतिशतसम्म वृद्धि गरेपछि वायुसेवा सञ्चालकहरूले ‘फ्युल सरचार्ज’ मा भारी वृद्धि गरेका हुन्। आयल निगमले प्रतिलिटर १२७ रुपैयाँमा बिक्री भइरहेको इन्धनलाई एकैपटक २५१ रुपैयाँ कायम गरेपछि हवाई सेवा प्रदायकहरूले बुधबार बिहान १ बजेदेखि नै लागू हुने गरी नयाँ भाडासूची सार्वजनिक गरेका हुन् ।