जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान त्रिवि शिक्षण अस्पतालमै सुरु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, स्वास्थ्य समस्याका कारण बयान अस्पतालमै लिइरहेको हो। त्रिवि शिक्षण अस्पतालमै जिल्ला सरकारी वकिल कार्यालयको टोली र अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन्।
ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन्। यस्तै, अर्का प्रतिवादी लेखकको बयान सरकारी वकिलको कार्यालयमा बुधबार सकिसकेको छ।
ओली–लेखक दुबैले पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज (बिहीबार) सकिएको छ। प्रहरीले उनीहरूविरुद्ध दोस्रोपटक म्याद थप्ने तयारी अघि बढाएको छ। एसपी भट्टराईका अनुसार, म्याद थप प्रक्रिया भिडियो कन्फ्रेन्समार्फत अघि बढाइएको छ।
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको थियो। उक्त आयोगले ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।
सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै, गत शनिबार बिहानै उनीहरू पक्राउ परेका थिए। त्यसयता उनीहरू हिरासतमा राखिएका छन्।














