भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारी मुछिएको घुसकाण्डको छानबिन गर्न अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार, सचिवस्तरीय निर्णयअनुसार समिति बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्तिसँग जोडिएको विषयमा अनुसन्धान गर्नेछ। भूपतीबज्र लामामाथि तत्कालीन मन्त्री बलराम अधिकारीलाई घुस खुवाएर नियुक्ति लिएको आरोप लागेको थियो।
समितिमा सहसचिव ध्रुव घिमिरे, उपसचिव रोशनशंकर घिमिरे, र कानून अधिकृत ध्रुव भण्डारी रहेका छन्। तीनैजना भूमि व्यवस्था मन्त्रालयमा कार्यरत छन्।
मन्त्रालयका अनुसार, गत माघको दोस्रो साता गठन भएको अन्तरिम सरकारले विभिन्न अनियमितता र पदीय आचरण विपरीत काम गरेको आरोपमा चिनियाँ लामा भूपतीबज्र लामालाई पदमुक्त गरेको थियो।














