नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा थापाले ‘जेनजी आन्दोलन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कटाक्ष गरेका थिए। उक्त अभिव्यक्तिपछि एमालेभित्रै असन्तुष्टि देखिएको हो।
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्।
उनले लेखेका छन्, “प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्।”
पौडेलले उक्त विषयमा पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको पनि बताएका छन्। साथै, शुक्रबार बस्ने नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा यस विषयमा छलफल भई उचित निर्णय हुने अपेक्षा व्यक्त गरेका छन्।
उनले भनेका छन्, “यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।”
विष्णु पौडेलले सामाजिक सञ्जालमा लेखेका छन-
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।














