नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले अदालतको आदेश अनुसार पक्राउ प्रक्रिया सुरु गर्ने तयारी थालेको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो। हाल दम्पती हङकङमा छन्। उपचारका लागि देउवा पहिले सिंगापुर गएका थिए भने आरजु पहिले दिल्ली पुगेकी र पछि हङकङ पुगेकी थिइन्।
भदौ २४ गतेको जेनजी आन्दोलनको बेला उनीहरुको घरमा ठूलो रकमको नगद जलेको र ठुलो मात्रामा गरगहना फेला परेको थियो। अनुसन्धान विभागले सो घटनापछि छानबिन अगाडि बढाएको थियो।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउनेछ। रेड नोटिस जारी भएमा इन्टरपोलमा आबद्ध देशका प्रहरीले पक्राउमा सहयोग गर्नेछन्।













