पोखरामा हतियार प्रहार गरी महिलाको हत्या

Image

 पोखराको सभागृहचोकमा बुधबार साँझ एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । साँझ करिब ७ बजे भएको उक्त घटनामा अज्ञात युवकले सडकपेटीमा उभिरहेकी महिलामाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

हत्या हुनेमा पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ । पोखरा–८ को सभागृह चोकदेखि शिवालयचोकतर्फ जाने सडकखण्डको दायाँपट्टि उभिरहेकी ती महिलामाथि अचानक हतियार प्रहार भएको थियो । हतियार प्रहारपछि उनी चिच्याउँदै ढलेकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषित गरका थिए । आक्रमणपछि युवक मोटरसाइकलमा भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।