उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

Image

 उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश दिएको छ । यही चैत २९ र ३० मा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित गर्न पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिट निवेदनमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। निवेदनमाथि छलफलका क्रममा निवेदकका तर्फबाट अधिवक्ता जयलाल भण्डारी र प्रितम घिमिरेले पैरवी गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउत तथा अधिवक्ताहरू दीपक घिमिरे, सुमनकुमार केसी र चन्द्रमणि निरौलाले बहस प्रस्तुत गरेका थिए।

अदालतले यसअघि रिट निवेदनमा ०८१ फागुन १६ गते जारी गरेको परमादेशअनुसार आवश्यक निर्णय नगरी साधारणसभा आयोजना गरिएमा निवेदक पक्षलाई असर पर्ने देखिएको निष्कर्ष निकालेको छ।

यसै आधारमा अदालतले सो मुद्दामा अन्तिम निर्णय नआएसम्म संस्थाको साधारणसभा नगर्नू–नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो।