इरान–अमेरिकाबीच पाकिस्तानमा वार्ताको तयारी, उच्चस्तरीय टोली सहभागी हुने

Image

इरान र अमेरिकाबीच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको राजधानी इस्लामाबादमा उच्चस्तरीय वार्ता हुने तयारी भएको छ।

पाकिस्तानी अधिकारीहरूले सम्भावित वार्तामा सहभागी हुने प्रतिनिधिमण्डलका नाम सार्वजनिक गरेका छन्। शनिबार हुने अपेक्षा गरिएको उक्त वार्ताको विस्तृत कार्यक्रम भने अझै अन्तिम रूप दिइँदै गरेको र सहभागीहरूको सूचीमा परिवर्तन हुन सक्ने बताइएको छ।

वार्ताको आयोजना पाकिस्तानले गर्नेछ। पाकिस्तानका तर्फबाट प्रधानमन्त्री मुहम्मद शहबाज शरीफ, सेनाप्रमुख फिल्ड मार्शल सैयद आसिम मुनीर, उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार, तथा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल आसिम मलिक सहभागी हुने सम्भावना रहेको छ।

अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकोफ, पूर्व राष्ट्रपति सल्लाहकार जारेड कुशनर, तथा अमेरिकी सेन्ट्रल कमान्डका कमाण्डर एडमिरल ब्राड कुपर सहभागी हुन सक्ने बताइएको छ।

त्यस्तै इरानको प्रतिनिधिमण्डलमा इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास अराघ्ची, तथा उपविदेशमन्त्री माजिद तख्त रवाञ्ची रहने सम्भावना रहेको छ।

पछिल्लो समय अमेरिका–इरान तनाव चुलिँदै गएपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइरहेका छन्। प्रस्तावित इस्लामाबाद वार्तालाई त्यसै प्रयासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।अलजजिरा