कांग्रेसले उपसभामुखमा रुवीकुमारी ठाकुरलाई मत दिने

Image

नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा रुवीकुमारी ठाकुर लाई समर्थन गर्ने निर्णय गरेको छ। ठाकुर श्रम संस्कृति पार्टीकी उम्मेदवार हुन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले उक्त निर्णय गरेको हो। सांसद अर्जुननरसिंह केसी का अनुसार बैठकले उपसभामुख पदमा ठाकुरलाई मत हाल्न सबै सांसदहरूलाई निर्देशन दिएको छ।

केसीले भने, “उपसभामुख निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्न अनौपचारिक बैठक बसेका हौँ। यो पूर्ववत् निर्णय नै हो, तर सबै माननीयलाई जानकारी गराउन बैठक गरिएको हो।”

यसअघि नै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।

उपसभामुख पदका लागि ठाकुरसँगै सरस्वती लामा (राष्ट्रिय प्रजातन्त्र पार्टी) को उम्मेदवारी परेको छ। निर्वाचनमा सत्ता पक्षको समर्थन पाएपछि ठाकुरको जितको सम्भावना बलियो देखिएको छ।