बझाङको बित्थडचिर गाउँपालिका वडा नं. १ स्थित बित्थड खेल मैदान निर्माणमा अनियमितता भएको ठहर भएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले वास्तविक काम भन्दा १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसा झुट्टा तथा दोहोरो बिल बनाई भुक्तानी लिने दिने गरेको पुष्टि भएको ठहर गरको छ।
सो कार्य गर्ने तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, साथै बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई तीन महिना कैद र बिगो असुल गर्न अदालतले आदेश दिएको छ।
अदालतले प्रतिवादी चक्रदेव भट्ट, गणेशराज उपाध्याय र हर्कदेव जोशीले आरोपदाबी बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ङ) बमोजिमको कसूर गरेको र प्रतिवादी दिपेन्द्र बहादुर बोहोरा, वीरबहादुर बोहोरा र निलम भण्डारीले समेत आरोपदाबी बमोजिम सोही कसूरको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिमको कसुर गरेको ठहर गरेको छ।
‘तसर्थ, निज प्रतिवादीहरूलाई निजहरूको संलग्नता, भूमिका र बिगोको अनुपात तथा कसूरको मात्राको आधारमा प्रतिवादी चक्रदेव भट्ट, गणेशराज उपाध्याय र हर्कदेव जोशीलाई उक्त ऐन, २०५९ को दफा ८(१) (ङ) बमोजिम जनही ३ (तीन) महिना कैद र रू.२,४४,४१७.१६ जरिवाना हुने र प्रतिवादीहरू दीपेन्द्र बहादुर बोहोरा, वीरबहादुर बोहोरा र निलम भण्डारीलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम जनही ३ (तीन) महिना कैद र रू.२,४४,४१७.१६ जरिवाना हुने ठहर्छ। साथै उल्लेखित प्रतिवादीहरूबाट जनही रु. २,४४,४१७.१६ बिगो असुल गरी बित्थडचिर गाउँपालिकालाई भराई दिने र निज प्रतिवादीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम जनही रू.९,७७७ क्षतिपूर्ति शुल्क समेत असुल गरी पीडित राहत कोषमा भराइदिने ठहर्छ’ फैसलामा भनिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार र उपभोक्ता समितिले पूर्वनिर्धारित लागत अनुमान तथा मेजजरमेन्ट बुक अनुसार नभई एउटै कामको लागि फरक-फरक कागजात बनाई, दोहोरो भुक्तानी गरी गैरकानुनी लाभ लिएको आरोपमा गत पुस २ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।














