नेपाली कांग्रेस ले संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउने क्रममा शुक्रबार आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ।
दलको नेता चयनका लागि गठित समितिले दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसँग छलफल गर्न लागेको हो। समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही का अनुसार छलफलमा सबै सांसदहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
कांग्रेसभित्र संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। नेताका लागि विभिन्न नेताहरूले आकांक्षा देखाएका छन्।
पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, वरिष्ठ नेता अर्जुननरसिंह केसी तथा लगातार तीन पटक निर्वाचित सांसद मोहन आचार्य ले दलको नेतामा दाबी प्रस्तुत गरेका छन्।
पार्टीभित्र सहमतिमै नेता चयन गर्ने प्रयास भइरहे पनि सहमति नजुटे निर्वाचन प्रक्रियामा जान सक्ने सम्भावना रहेको नेताहरू बताउँछन्।















