सर्वोच्चको अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय

Image

सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्ट लाई ६ महिना कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत काठमाडौं का न्यायाधीश खिमानन्द भुषाल को इजलासले बिहीबार विष्टलाई कैद सजायसहित १० हजार रुपैयाँ जरिवाना पनि तोकेको हो। अदालतका शाखा अधिकृत हेमन्त भट्टराई का अनुसार चैत २२ गते नै विष्टलाई दोषी ठहर गरिएको थियो।

विष्टले सर्वोच्च अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेका थिए। सोही पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपाल का संरक्षक रेशमलाल चौधरी लाई पक्राउ गरेको थियो।

तर पक्राउ लगत्तै उक्त पत्र अनधिकृत रहेको खुलेपछि प्रकरणले नयाँ मोड लिएको थियो। पछि सर्वोच्च अदालत प्रशासनले नै उक्त पत्र नक्कली भएको स्वीकार गर्दै अनुसन्धानको माग गरेको थियो।

अनुसन्धानपछि विष्टलाई नियन्त्रणमा लिएर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। यसअघि उनलाई पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको थियो।

अदालतको पछिल्लो निर्णयसँगै उक्त बहुचर्चित प्रकरणमा कानुनी निष्कर्ष आएको छ।