यस्तो छ देशको आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठसहित)

गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवका तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो ।

तथ्याङ्कअनुसार गत आवमा कूल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर रु १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।