रास्वपाको केन्द्रीय सदस्यमा ४०० बढीको उम्मेदवारी, अन्तिम नामावलीपछि मतदान

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारी परेको छ।मंगलबारदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत बुधबार बिहानसम्म ४०० भन्दा बढी आकांक्षीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

निर्वाचन आयोगले उम्मेदवारीको रुजु प्रक्रिया पूरा गरेपछि प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको छ। यद्यपि बुधबार बिहान ९ बजेसम्म प्रारम्भिक सूची सार्वजनिक भइसकेको छैन।

प्रारम्भिक नामावली प्रकाशन भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय प्रदान गरिनेछ। दाबी–विरोधमाथि आवश्यक छानबिन र निर्णय गरेपछि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ।

अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतदान प्रक्रिया सुरु हुने आयोगले जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। पार्टीका विभिन्न पदमा उल्लेख्य संख्यामा उम्मेदवारी परेकाले नेतृत्व चयनको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।