प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने उक्त बैठकमा उच्च शिक्षासँग सम्बन्धित समसामयिक चुनौती र सुधारका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। छलफलमा विशेषगरी विश्वविद्यालयहरूको प्रशासनिक, शैक्षिक तथा संरचनात्मक समस्याहरूको पहिचान गर्दै तिनको समाधानका लागि ठोस कदमबारे कुरा हुने अपेक्षा गरिएको छ। साथै, तत्काल समाधान गर्न सकिने विषयहरूमा निर्णयसमेत हुन सक्ने बताइएको छ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्ने कार्यक्रम छ।
प्रतिष्ठानतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।
















