साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५ अंकमा झरेको छ। कारोबार सुरु भएको केही मिनेटमै २८४५ अंकसम्म पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेको हो।
अघिल्लो कारोबार दिन सामान्य वृद्धि देखिएको बजारमा आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ। आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन्।
समूहगत सूचकमध्ये होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले बढेको छ भने अन्य सबै समूह ओरालो लागेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स लगायत अधिकांश समूहमा सामान्य गिरावट देखिएको छ।
यसदिनदेखि लागू भएको १५ प्रतिशतसम्म मूल्य उतारचढाव हुने व्यवस्थाअनुसार सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।
यस्तै झापा इनर्जी, रिजलाइन इनर्जी र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।
त्यसैगरी दोल्ती पावर र एसियन हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।














