जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

Image

जापानको उत्तरी क्षेत्रमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार साँझ ४:५३ बजे गएको भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पपछि तीन मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ।

भूकम्प इवाटे प्रान्तको प्रशान्त महासागर किनार क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ। यसको धक्का सयौँ किलोमिटर टाढासम्म महसुस भएको थियो, जसमा टोकियोमा समेत ठूला भवनहरू हल्लिएको विवरण प्राप्त भएको छ।

जेएमएका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेकाले समुद्र तट तथा नदी किनारका बासिन्दालाई उच्च भूभाग वा सुरक्षित भवनतर्फ जान आग्रह गरिएको छ। अधिकारीहरूले चेतावनी पूर्ण रूपमा नहट्दासम्म सुरक्षित स्थान नछोड्न आग्रह गरेका छन्।

यसबीच जापान सरकारको प्रधानमन्त्री कार्यालयले आपतकालीन व्यवस्थापनका लागि विशेष टोली गठन गरी अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

रिङ अफ फायर क्षेत्रमा अवस्थित जापान विश्वकै भूकम्पीय जोखिमयुक्त देशमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गममा रहेको यस देशमा वार्षिक औसत करिब १५०० भूकम्पीय धक्का महसुस गरिन्छ।

यसअघि सन् २०११ मा गएको तोहोकु भूकम्प र सुनामी (९.० म्याग्निच्युड) ले विनाशकारी क्षति पुर्‍याएको थियो, जसमा करिब १८ हजार ५०० जनाको मृत्यु वा बेपत्ता भएको थियो।

हालको भूकम्पपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।