वाम शक्तिहरूबीच एकता आजको आवश्यकता : प्रचण्ड

Image

नेपाली कम्युनिष्ट आन्दोलनमा एकता र मोर्चाबन्दीको आवश्यकता औँल्याउँदै प्रचण्डले सबै वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा भ्लादिमिर लेनिन जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उनले समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिका लागि वाम शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे।

प्रचण्डले वर्तमान विश्व परिस्थितिमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक बन्दै गएको बताए। उनले यस्तो अवस्थामा शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेको धारणा राखे।

सन्देशमा उनले लेनिनका विचार र आदर्श अहिलेको विश्व सन्दर्भमा अझ सान्दर्भिक भएको उल्लेख गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउन सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्नुपर्ने बताए।

प्रचण्डका अनुसार कम्युनिष्ट आन्दोलनले नै इतिहासमा उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताको संरक्षण गरेको प्रमाणित भएको छ। उनले विगतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै गरिब किसान र श्रमजीवी वर्गको पक्षमा क्रान्तिलाई अघि बढाउने जिम्मेवारी अझ बढेको बताए।

वि.सं. २००६ साल वैशाख ९ गते नेपाली कम्युनिष्ट पार्टी स्थापना भएको थियो, जसको सम्झनामा प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको छ।