डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन्। यसअघि दुई साताका लागि तय गरिएको युद्धविराम अप्रिल २२ मा सकिँदै थियो।
ट्रम्पले स्थायी शान्तिको प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरानबीच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले युद्धविराम अवधि थपिएको जनाएका छन्। तर उनले होर्मुज स्ट्रेटमा नाकाबन्दी भने जारी रहने स्पष्ट पारे।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानभित्र आन्तरिक विभाजन देखिएको दाबी गर्दै पाकिस्तानका सेना प्रमुख असिम मुनिर र प्रधानमन्त्री शहबाज शरीफले कूटनीतिक समाधानका लागि आक्रमण रोक्न आग्रह गरेको उल्लेख गरे।
यसैबीच प्रधानमन्त्री शरीफले युद्धविराम लम्ब्याइएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले वार्ताबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दै इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट दिगो शान्ति स्थापित हुने आशा व्यक्त गरे। तर वार्ताको मिति भने सार्वजनिक गरिएको छैन।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पाकिस्तान जाने तयारीमा रहे पनि इरान वार्तामा इच्छुक नदेखिएपछि तत्कालका लागि भ्रमण स्थगित गरिएको ह्वाइट हाउसले जनाएको छ।
यसअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त हवाई हमला गरेपछि सुरु भएको द्वन्द्व मध्यपूर्वभर फैलिएको थियो। युद्धविरामपछि इजरायल र अमेरिकाले इरानमाथिको आक्रमण रोके पनि लेबननमा इजरायली कारबाही भने जारी रहेको छ।
युद्धविराम लागू हुने क्षेत्रको विषयमा अझै विवाद भइरहेका बेला होर्मुज स्ट्रेटजस्तो महत्वपूर्ण ऊर्जा मार्गमा तनाव कायमै रहँदा क्षेत्रीय स्थायित्वबारे चिन्ता बढेको छ।















