१५ लाखको हुथी ड्रोन रोक्न साउदी अरबको ३० करोड खर्च

Image

साउदी अरबले यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्ता ड्रोन र क्षेप्यास्त्र रोक्न महँगा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गर्नुपर्दा सुरक्षा खर्च बढ्दै गएको छ। करिब १५ लाख रुपैयाँ पर्ने एउटा ड्रोन नष्ट गर्न झन्डै ३० करोड रुपैयाँ पर्ने प्रतिरोधी क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने अवस्था रहेको विवरणमा उल्लेख छ। यसले साउदी अरबको सैन्य खर्च बढाउनुका साथै प्रतिरक्षा क्षमतामाथि पनि चुनौती थपेको छ।

साउदी अरबले आधुनिक लडाकु विमान, क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीमा अर्बौँ डलर खर्च गर्दै आएको छ। तर हुथी विद्रोहीले कम उचाइमा उड्ने सस्ता ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दा तिनलाई राडारबाट समयमै पत्ता लगाउन र आकाशमै नष्ट गर्न कठिन भइरहेको छ। सस्ता हतियार रोक्न महँगा प्रतिरोधी क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने बाध्यताले साउदी अरबको प्रतिरक्षा खर्च र हतियारको मौज्दातमा थप दबाब सिर्जना गरेको छ।

युक्रेन र मध्यपूर्वमा जारी युद्धका कारण विश्वभर प्रतिरोधी क्षेप्यास्त्रको माग बढिरहेको छ। यस्तो अवस्थामा साउदी अरबलाई लामो समयसम्म यही रणनीतिबाट आक्रमण रोक्न कठिन हुन सक्ने आकलन गरिएको छ। अर्कोतर्फ, हुथी विद्रोहीले आफ्नै हतियार उत्पादन गर्ने क्षमता बढाउँदै लगेका छन्। साउदी अरबको दक्षिणपश्चिममा पर्ने यमनबाट हुने आक्रमण रोक्नुपर्ने चुनौतीले पनि उसको सुरक्षा व्यवस्थामाथि दबाब बढाएको छ।

साउदी अरबले सन् २०१५ मा हुथी विद्रोहीविरुद्ध यमनमा सैन्य अभियान सुरु गरेको थियो। केही सातामै विद्रोहीलाई कमजोर बनाउने अपेक्षासहित सुरु गरिएको अभियान वर्षौँसम्म लम्बियो। हुथी विद्रोहीले यमनको ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम राख्नुका साथै साउदी अरबमाथि पटकपटक आक्रमण गर्दै आएका छन्। सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युद्धविराम भए पनि द्वन्द्वको स्थायी समाधान हुन सकेको छैन।

साउदी अरबको चुनौती महँगा हतियारको प्रयोगमा मात्र सीमित छैन। सैन्य निकायबीचको समन्वय, छिटो निर्णय गर्ने क्षमता र आधुनिक उपकरण सञ्चालनका लागि आवश्यक तालिम पनि उत्तिकै महत्त्वपूर्ण छन्। यमनभित्र हुथीविरोधी समूहहरू विभाजित रहेकाले उनीहरूलाई एकजुट बनाएर विद्रोहीको प्रभाव घटाउनसमेत कठिन भइरहेको छ।

हुथी विद्रोहीलाई इरानका प्रभावशाली क्षेत्रीय सहयोगीमध्ये एक मानिन्छ। सस्ता ड्रोन र क्षेप्यास्त्रको प्रयोगबाट साउदी अरब तथा अमेरिकाको सैन्य खर्च बढाउन सके इरानलाई क्षेत्रीय शक्ति सन्तुलनमा दबाब सिर्जना गर्ने अवसर मिल्छ। कम लागतका हतियारले महँगा प्रतिरक्षा प्रणालीलाई चुनौती दिन सक्ने यो अवस्थाले आधुनिक युद्धमा हतियारको मूल्यभन्दा पनि त्यसको प्रभावकारिता र लागतबीचको सन्तुलन महत्त्वपूर्ण हुने देखाएको छ।