नक्कली नोटलाई सक्कली भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आइतबार कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ र ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका छन्। त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–५ का ३४ वर्षीय प्रवीण महतो, रौतहट गुजरा नगरपालिका–१ की २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरी पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले “सक्कली जस्तै देखिने नक्कली नोट सजिलै साट्न वा प्रयोग गर्न सकिने” भन्दै विभिन्न स्थानमा सर्वसाधारणलाई प्रलोभनमा पार्दै आएका थिए। नक्कली मुद्रालाई सक्कलीभन्दा दोब्बर सटही गरिदिने आश्वासन दिई पीडितलाई झुक्याएर ठगी गरेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।













