झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार प्रधानाध्यापक र लेखापालबीचको मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको अनियमितता गरिएको पाइएको छ। नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी रकम देखाई नक्कली बिल भर्पाइ तयार पारेर ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको आरोप छ।
त्यसैगरी विद्यालयको खातामा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरेको तथा आर्थिक वर्ष २०७७/७८ देखि १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
आरोपित दुवैजनाविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।















