क्लिनिकल एम्ब्रायोलोजीमा स्वर्ण पदक जित्ने पहिलो नेपाली विद्यार्थी बनिन् जयश्वरी शर्मा

Image

भारतमा नेपालकी जयश्वरी शर्माले चिकित्सा शिक्षाको जटिल र संवेदनशील मानिने ‘एमएससी क्लिनिकल एम्ब्रायोलोजी’ विषयमा उत्कृष्ट नतिजासहित स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गरेकी छन्। बुटवलकी शर्मा यो विषयमा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थी बनेकी हुन्।

भारतको श्रीधर विश्वविद्यालय अन्तर्गत ‘स्कूल अफ एम्ब्रायोलोजी एन्ड असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी’ बाट सन् २०२३–२०२५ को शैक्षिक सत्र पूरा गरेकी उनले उच्चतम सीजीपीए हासिल गरेकी हुन्। सोही अवसरमा उनलाई प्रतिष्ठित “एकेडेमिक एक्सिलेन्स अवार्ड” बाट समेत सम्मानित गरिएको छ।

आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै शर्माले यसको श्रेय परिवार, गुरुवर्ग र आफ्नै निरन्तरको परिश्रमलाई दिएकी छन्। भविष्यमा प्रजनन स्वास्थ्य र अनुसन्धानको क्षेत्रमा अझै योगदान पुर्‍याउने उनको लक्ष्य छ।