सङ्घीय संसद को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
रामचन्द्र पौडेलले भोलि अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन अनुरोध गरिएको छ ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको जानकारी, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना प्रस्तुत गर्ने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिनेछ भने नियमावलीको मस्यौदा पनि प्रस्तुत हुने जनाइएको छ ।
सरकारले जारी गरेका सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ सहित आठ अध्यादेश पनि संसद्मा पेस हुनेछन् ।
राष्ट्रियसभा बैठकमा पनि ती अध्यादेशहरू पेस गरिने संसद् सचिवालयले जनाएको छ ।















