त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।
विमानस्थल सुरक्षा स्रोतका अनुसार इस्तानबुलबाट आएको उक्त जहाज आज बिहान करिब पौने ७ बजे ल्याण्ड गर्ने क्रममा पाङ्ग्रातर्फ आगो देखिएको थियो। आगो देखिएलगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि विमानका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा उद्धार गरिएको थियो। विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।
आगो लाग्नुको कारण तथा विमानको अन्य प्राविधिक अवस्थाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताइएको छ।यसअघि गत माघमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको विमानको दायाँ इन्जिनमा आगलागी भएको थियो । आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो ।













