मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा गए राति गाडी दुर्घटना हुँदा नौजना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको माइक्रोको ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनापछि प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । प्रहरीका अनुसार, गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये नौजना भारतीय नागरिक र चालकसहित दुईजना नेपाली नागरिक रहेका थिए ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा सामान्य घाइते भएका छन् । घाइते सबैलाई प्रारम्भिक उद्धारपछि बीएन्डबी अस्पताल काठमाडौं पठाइएको थियो । पछि उनीहरूलाई अल्का अस्पताल ललितपुरमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार अर्का नेपाली नागरिक २२ वर्षीय असान साफि भने सामान्य अवस्थामा आफैँ घर फर्किएको प्रहरीले जनाएको छ । चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् ।















